दफा १८
सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
(१) संस्थाको साधारण सभाबाट हुने काम बाहेक बैङ्कबाट भुक्तानी, समाशोधन तथा फर्स्यौटको सम्बन्धमा यस ऐन, प्रचलित कानून, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही संस्थाले गर्नु पर्ने सम्पूर्ण काम, कर्तव्य र अधिकार सञ्चालक समितिमा निहित रहनेछ।
(२) संस्थाको समग्र जोखिम व्यवस्थापन गरी सेवाग्राहीको हितमा संस्थाको सञ्चालन गर्नु र संस्थागत सुशासन कायम गर्नु सम्बन्धित संस्थाको सञ्चालक समितिको कर्तव्य हुनेछ।
(३) सञ्चालक समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क)   संस्थाले गर्नु पर्ने काम सुव्यवस्थित रुपले सञ्चालन गर्न यस ऐन, प्रचलित कानून तथा बैङ्कको निर्देशनको अधीनमा रही आवश्यक विनियम, निर्देशिका र कार्यविधि बनाई लागू गर्ने,
(ख)   संस्थाको संगठनात्मक संरचना स्वीकृत गर्ने,
(ग)     भुक्तानी प्रणाली सञ्चालन वा भुक्तानी सेवा प्रदान गर्दा जोखिम वा जोखिमजन्य परिस्थिति उत्पन्न हुन नदिन आन्तरिक नियन्त्रण प्रणाली एवं जोखिम व्यवस्थापनका मापदण्ड तयार गरी लागू गर्ने,
(घ)   संस्थाले गर्नु पर्ने सम्पूर्ण काम कारबाहीको नियमित अनुगमन गरी व्यवस्थित तबरबाट संस्था सञ्चालन गर्ने, गराउने,
(ङ)   वार्षिक प्रतिवेदन सहितको लेखापरीक्षण प्रतिवेदन तयार गर्न लगार्इ संस्थाको वार्षिक साधारण सभामा पेश गर्ने,
(च)   बैङ्कले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्ने।
(४) संस्थाको सञ्चालकको हैसियतले काम गर्ने सञ्चालक आफ्नो अधिकारक्षेत्र नाघी गरेको कुनै पनि काम कारबाही प्रति व्यक्तिगत रुपमा उत्तरदायी हुनेछ।
(५) सञ्चालक समितिको अन्य काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि तथा अन्य व्यवस्था संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम हुनेछ।